गुन्ही पुन्हि (क्वाँटी पूर्णे)
कृषि उद्यममा आधारित जीवनशैलीमा हामी बाँचेका छौँ । असारमा खेतीपातीका कामले थकित भएका हुन्छन् । साउने झरीमा बिसाउन बाध्य पनि भइन्छ। खेतीको क्रममा शारीरिक श्रम धेर गर्दा शरीरलाई अतिरिक्त ऊर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेड़ागुड़ी अर्थात् प्रोटिन (प्रोभूजिन)-ले गर्दछ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्दछ ।
असारमा पो खेतीका कामले सन्चोले बस्न पाइँदैन । साउनमा त्यस्ता कामका चटारो पनि हुँदैन । साउनेपानी छल्न छोरीचेली माइत आएका हुन्छन् । रमाइलो गर्छन् । अचेल भने टीभी हेरेर सिको गरी वैरागी लुगा लाएर रुझिभिजी बोल बम गएका पनि देखिन्छ ।
शरीरमा पानीको कमी पूरा गर्न बेलपात र पानी आफूले खाई आफूभित्रका शिवजीलाई प्रसन्न गराउनुपर्ने हो । साउने झरी र भदौरे भेलमा कता पो जानु र ! स्वादिला र पौष्टिक भोजन पकाउँदै खाने र रमाइलो गर्ने हुनाले साउन-भदौ अर्थात् अगस्तमा थुप्रै पर्व पर्दछन् – क्वाँटी पूर्ने, कृष्णाष्टमी, कुशे औँसी बाबुको मुख हेर्ने दिन, तीज, गणेश चतुर्थी, ऋषि पञ्चमी आदि।
आजको साउने पूर्नेलाई नेवारीमा गुँपुन्ही, संस्कृतमा श्रावण पूर्णिमा वा यज्ञोपवीत पूर्णिमा वा ऋषितर्पणी पूर्णिमा, नेपालीमा जनैपूर्ने वा क्वाँटीपूर्ने भनिन्छ। १५ दिने मास हुने चन्द्रपात्रो नेपाल सम्वत्-मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक मास गुँला अर्थात् नवौँ मास हो । गुँला मासमा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र गुँला नवौँ मास भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेड़ागुड़ीको मिश्रण क्वाँटी खाने गरेको हो । कतिले साहित्यको जस्तै क्वाँटीमा नवरस मान्दछन् भने कतिले नवग्रह शान्ति हुने ठान्दछन्। चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, सुकेका केराउ, हरिया केराउ मिसाएर पकाएको परिकार क्वाँटी हुँदछ । यस्ता गेड़ागुड़ीको मिश्रण खानुअघि यिनीहरूलाई टुसा उम्रने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि लाभदायक हुँदछ। शरीर सन्च र चङ्ख हुन्छ।
चङ्ख हुन सिकाउने काग र बाली विनाशक कीरा खाइदिने भ्यागुतालाई पनि भाग लगाएर क्वाँटी खाइन्छ। भोलिपल्ट प्रतिपदामा गाई जात्रा निकालिन्छ। यसलाई सापारू पनि भनिन्छ। सा भनेको गाई पारू भनेको प्रतिपदा । प्राकृतिक सफाईकर्मी चङ्खा कागले यही बेला गुँड़बाट बच्चा बाहिर निकाल्छन् भनिन्छ। चेपागाँड़ाबाट यति बेलै भ्यागुता बनिएका हुन्छन्। कृषिबन्धु यी प्राणीप्रति कृतज्ञता व्यक्त गर्ने काम पनि यसै पर्वमा गरिन्छ।
‘क्वाँटी’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो – ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सिरुवा अर्थ लाग्ने भएकोले ‘क्वाति वा ‘क्वाँटी’ को अर्थ अङ्ग्रेजीमा हट सुप भन्ने बुझिन्छ । हुन ता अङ्ग्रेजीमा पिरोलाई पनि हट भन्ने गरिन्छ । अचेल सुन्दरीलाई पनि हट भनिएको सुनिन्छ ।
मास, भटमास, मुगी, सुकेका केराउ, हरिया केराउ, मस्याम, चना, सिमी, टाटे सिमी र बोड़ीको मिश्रण क्वाँटी भएजस्तै सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु, हायु, चेपाङ, योल्मो, थारू, थामी, लाप्चे, भोटे, धिमाल, ठकुरी, गिरी, पुरी, खस, कामी, दमाई, सार्की, छेत्री, बाहुन, नेवार र अरू थुप्रै जातको मिश्रण गोर्खा जाति हो । क्वाँटीको सांस्कृतिक, औषधीय अनि जातीय महत्त्व बुझ्दै गएपछि जनै पूर्णिमाको दिनमा नेवारको सिको गरी अधिकांश गोर्खाका घरमा पनि क्वाँटी खाने चलन बढ्दै गएको छ, यो हो सकारात्मक पक्ष । शक्ति र स्वाद दुवै पाइने भएकाले पनि क्वाँटी अब नेवारको मात्र आहार नभएर सबै गोर्खा जातिको आहार बनिसकेको छ । क्वाँटी बनाउने विधि गुगल गुरु वा यूट्युबबाट सिके भइगयो।
सबै गेड़ागुड़ीको जस्तै सबै जातका गोर्खाको धरती एउटै हो। सबैका टुसा एकैखाले हुन्छन्। झ्ञागिँदा बेग्लाबेग्लै भए पनि एउटै धरतीमा सँगै टुसाएको सत्य बिर्सनु हुँदैन। हाम्रा जात-जातका रूप-रेखा-रङ्ग अनेक छ तर सबैमा सौन्दर्यको ज्योति एक छ। यही कुरा कविशिरोमणि लेखनाथले यसरी भनेका छन् :
“प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ।।”
– वसन्त विचार, पद्य २८
थुप्रै गेड़ागुड़ी खाँदा जातीय एकता सम्झनुपर्दछ। खस, किरात, भोट मूलका हाम्रा सबै जात मिलेर बनेको गोर्खा जाति बलियो हुनुपर्नेमा पारसमणि प्रधानले १०० वर्षअघि नै यस्तो कविता लेखेका थिए –
“लिम्बू जिम्दार तामाङ् खस मगर गुरूङ् हायु चेपाङ् र कामी ।
सुन्वार लाप्चे कुसुण्डा गिरि पुरि ठकुरी थारू नेवार थामी ।।
गोर्खाली जाति हामी भनिकन सबले बोलि नेपालि भाषा ।
हाम्रो भाषा यही हो भनि तनमनले मान्दछन् मातृभाषा ।।”
धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा अर्थात् साउने पूर्नेको दिन खाइने क्वाँटी दिनविशेषको महिमा मात्र नभएर गोर्खाको जातीय एकताको प्रतीक पर्व पनि हो । गोर्खा सबै जातको फूलबारी हो, क्वाँटी सबै गेड़ागुड़ीको सम्मिश्रित परिकार हो ।
क्वाँटीले रोग प्रतिरोधात्मक शक्ति बढाउने, गेड़ागुड़ीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा क्रान्ति ल्याउने, अजीर्ण अर्थात् मलावरोधको समस्या हटाउने, मधुमेह तथा पाइल्स भएका मानिसलाई समेत नबिराउने, पेटमा अनावश्यक वायु बढ्न नदिने, कुपोषण हटाउने, भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई, प्रोटिन तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुनाले शरीरको थकान र तनाउबाट मुक्त गराउने, सुपाच्य र सुस्वादु हुने गुण हुन्छन् । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुन्छ। मधुमेह (डाइबिटीज), अर्शरोग (बवासीर/पाइल्स), मलावरोध (अजीर्ण/कोष्ठबद्धता; कन्सटिपेशन, अरबीमा कब्जियत), रुघाखोकी, कलेजोकष्ट (यकृतरोग/लिभरसिरोसिस), सुत्केरी महिला, वृद्ध-वृद्धाका लागि समेत क्वाँटीले लाभ गर्दछ। तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मिर्गौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुऱ्याउनुपर्ने हुन्छ। गुनिलो हुन्छ भनेर खाएको खाएकै गर्नु पनि राम्रोचाहिँ होइन । सबैको सीमा हुन्छ – ‘अति सर्वत्र वर्जयेत्’ । पौष्टिक आहार खाएर ऊर्जा आयो भन्दैमा व्याभिचार गर्नु हुँदैन भन्ने ज्ञान हामी सबैमा हुनपर्दछ ।
कति गोर्खाले जनैपूर्णिमामा ऋषितर्पणी पर्व मनाउने गर्दछन् । उनीहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरी बाँधी रक्षाबन्धन लाउने पनि गर्दछन् । अचेल सिनेमा र टीभी हेरेर मधेशका मानिसहरूको सिको गरी दाजुभाइलाई दिदी-बहिनीहरूले भोजपुरी र मैथली गीत गाउँदै राखी बाँधिदिएको पनि देखिन्छ । राखीभन्दा महत्त्वपूर्ण पर्व त गोर्खाहरूको भाइटीका छँदैछ । आज त पुरोहितले पो यजमानलाई रिखीडोरी लगाइदिने हो । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास पनि रहेको छ । बिहान पुजारी बाहुनले जपेको रिखीडोरी हातमा बाँधिदिन्छन् र उनीहरूलाई दक्षिणाका साथै नौ प्रकारका गेड़ागुड़ी मिश्रित क्वाँटी खुवाइने जातीय मान्यता छ। पहिले त क्वाँटी खाने प्रचलन नेवार समुदायमा धेर थियो तर अब सबै जातको सामुदायिक परिकार हुनथाल्यो । समयानुकूल आधुनिकीकरण गरेर अचेल क्वाँटीमा तामा पनि मिसाउँछन्, कतिले झिँगेमाछा, कुखुराको मासु, खसीको खुट्टा, लसुन, जिरा, ज्वानु, धनिञा र अरू के-के। उम्लिरहेको क्वाँटी सिरुवामा ससाना म:म: पनि मिसाउँछन् र कतिले म्याक्रनी आदि। यी प्रकारलाई समयले मागेको संस्कार मान्दा हुन्छ । वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गर्नाले नेवारलाई मात्र लाभ भएन । वर्षाको पानीले जात छुट्याउँदैन । पानीमा रुझिभिजी हिँड्ने सबै जातका मान्छेलाई चिसो लाग्दछ । क्वाँटी अड़िलो र स्वादिलो हुनाका साथै चिसो लागेको भगाउन उपयोगी भएको देखेर अरू जातले पनि सिके, सिकाउँदैगए । सिक्ने र सिकाउने प्रक्रियाले अब क्वाँटी पर्व जातीय आहार पर्व भएको छ। अब हर्षोउल्लाससित क्वाँटी पर्व सबै गोर्खाले मनाउने गर्दछन् ।
वैदिक पद्धतिले व्यास पूर्णिमामा गुरु-पूर्णिमा मनाइन्छ । अब जनै पूर्णिमामा तान्त्रिक पद्धतिले गुरु पूर्णिमा मान्ने चलन छ । झाँक्रीहरूले ‘सै सै ला बोम्बो’ भन्ने गुरु पुर्ने । द्यौता भाकेर घरेलु शुद्ध पेय पदार्थ, रक्सी वा जाँड़ र फलफूलले गुरुलाई रिझाउने दिन हो । झाँक्रीले फलाकेको बेला ढोले-धुपौरेहरूले ढ्याङ्ग्रो-गजाले बजाउँदै ‘सै-सै बोम्बो सै-सै’ भन्दै झाँक्रीका लागि बल मागिदिने गर्दछन् । पाँचकन्ने केटीले दीयो-कलश बोकेका हुन्छन् । काँसका कलशमा अम्लिसोका मुना, काउलोका पात, तितेपाती, फूल भरिएका हुन्छन् । नेपालतिरका झाँक्रीहरू बौलाहा पोखरी, मनकामनातिर पुगेजस्तै दार्जिलिङका झाँक्रीहरू महाकाल थान जान्छन् र चौरस्तामा नाच्छन्, सिक्किमका झाँक्रीहरू टिबेट रोडमा देउभाजु वा गभाजु सूर्यवीर तुलाधर गुरुकहाँ आसिक लिन पुग्दछन् । पहिले लोकवार्ताकार इन्द्र थपलियाहरूले दार्जिलिङको चौरस्तामा गुरुपूजा कार्यक्रम आयोजन गरेका हुन्थे । टाड़ा-टाड़ाका झाँक्री भेला हुन्थे । उनीहरूमाझ स्पर्धा पनि हुन्थ्यो । ‘दार्जिलिङलाई, सिक्किमलाई, तराईलाई, डुवर्सलाई, टिस्टा-रङ्गीतलाई, सुनकोशलाई, ब्रह्मपुत्रलाई, गङ्गालाई, देशलाई – ल है वरदान, आयु, सम्पत्ति, पशुपक्षी, झार-जङ्गल, माटो, पानी, आगो, हावा, आकाश मागिल्याउँछौँ’ भन्दै जामा फर्फर पारी पितृ र द्यौ-द्यौतालाई सम्बोधन गरी झाँक्री फलाक्दथे ।
यजमानकहाँ पूजा गर्दा हाम्रा पुरोहितहरूले कालीनाग, सेतीनाग, लाटीनाग, कालीमाई, सेतीमाई, मेचीमाई, टिस्टामाई, गङ्गामाई, संसारीमाई, रानीढुङ्गा, सेतीढुङ्गा, बगरेढुङ्गा, चुह्लाढुङ्गा, चौतारीढुङ्गा, कुलद्यौता, पितृद्यौता, आठाने-चाराने द्यौताहरू सबैलाई सम्झिसम्झी नाम लिएर भाकेपछि दश दिशाको पूजा गर्दथे, तब मात्र ‘भारतखण्डे जम्बुद्वीपे, गोरखराज्ये, दार्जिलिङ जनपदे … ‘ भन्ने गर्दथे। खस बाहुनले किरात द्यौताहरूका नाम पनि लिन्थे भने हाम्रा किरात बिजुवा-फेदङ्बा र बौद्ध तम्बा र लामाहरूले खस देवताका नाम लिन्थे। खस-किरातको सम्मिश्रित स्वरूप गोर्खा जातिमा देखिन्छ। यस कुराको सबल पुष्टि विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ उपन्यासमा भएको पाइन्छ। त्यहाँ बाहुन पात्र सोमदत्त र किरात पात्रा सुम्निमाको बिहा हुन नसके पनि सोमदत्तको छोरो र सुम्निमाकी छोरीको बिहा भएको छ। खस-किरातको समन्वयक दृष्टान्तले जातीय एकतालाई लक्षित गरेको पाइन्छ। यसबाट क्वाँटी संस्कृति अझ बलवती हुनुपर्ने आवश्यकता बोध हुँदछ।
प्राचीन कालमा हिमाली क्षेत्रमा बलिहाङ नामका शक्तिशाली राजा थिए । कति अन्वेषकले बलिहाङलाई किरात मानेका छन् । आर्य जाति उनको पराक्रमसित परिचित थिए । मधेशतिरका आर्यले उनलाई दानवका राजा बलिराज अर्थात् दानवेन्द्र पनि मान्दथे । वास्तवमा उनी दानेन्द्र (दानका राजा) थिए। मिथक जता लग्यो उतै जान्छ। मिथलाई इतिहास सम्झेमा विचार बाझाबाझ हुन्छ। पाहाड़मा त खस र किरात मिलेरै बस्दथे । बलि दानी पनि थिए । उनलाई दानराज पनि भनिन्छ । निर्धनलाई धन दिन्थे, अज्ञानीलाई विद्या पनि सिकाउँदथे, असहायलाई सहायता गर्दथे । आफू खलिखप्पुर हुन्जेल दान गर्दथे । एउटा कथाअनुसार अति दान गरे भनेर परीक्षा लिन दान थाप्ने निहुँ गरी विष्णु वामन रूपमा आएर उनलाई पातालमा पसाइदिईकन देउसीको दिनमा मात्र निस्कनुसक्ने बनाइदिए । देउसेले त्यसैले ‘बलिराजको आदेश मान्दै’ तथा ‘बलिले जस्तै दान गर’ भन्दछन्। ‘अतिवादी नहुनू’ भन्ने अर्ती दिँदा बलिको पनि नाम लिइन्छ – ‘अति रूपेण वै सीता चातिगर्वेण रावणः। अतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत्॥’ [भावार्थ : अधिक सुन्दरताले गर्दा सीताको हरण भएको थियो, अति गर्भित (घमण्डी) हुनाले रावण मारिए तथा अत्यन्त दानी हुनाले राजा बलि छलिए । कुनै कुरामा पनि अतिवादी नहुनू ।
बलिको अहम् नबढोस् भनेर ऋषि वृहस्पतिले रक्षासूत्रले उनलाई बाँधिदिए भन्ने कथा पनि पढ्न पाइन्छ। यस कथा सम्झने क्रम अझ छ – ‘येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥’ [अर्थात् जसरी गुरु वृहस्पतिले रक्षाविधान गरी बनाएको रक्षाबन्धन (डोरो)-बाट अत्यन्त बलशाली दानवेन्द्र बलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँध्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।] यस्तो अर्थ भएको पुरानै मन्त्र पढेर रक्षाबन्धन बाँधिदिने परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । वृहस्पति ऋषिको सूत्र अर्थात् ऋषिडोरीबाट रिखीडोरी वा राखीधागा बनेको हो भन्ने पनि भनाइ छ ।
जनैपुर्नेकै दिन सिद्धार्थ गौतमले काम शक्तिमाथि विजय प्राप्त गरेको स्मरण गर्दै गोर्खा बौद्ध धर्मावलम्बीहरू गुम्बामा पूजा गर्न जाने गर्दछन् । कामवासनालाई दुष्कर्ममा नलगाउने तर उपकारी नागरिक उत्पादन गर्नमा लगाउनुपर्ने मन्त्र बौद्ध धर्मशास्त्रमा पाइन्छ – ‘कामेसु मिच्छाचारा वेरमणी सिक्खापदं समादयामि’ अर्थात् काम र मिथ्या आचारदेखि टाड़ो रहने शिक्षा प्राप्त गर्दछु ।
संस्कृतिको विशेषता नै हो, एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित हुँदै जानु, जसले मानव सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुर्खाको सद्व्यवहार वर्तमान संस्कार र संस्कृतिको अन्तर्सम्बन्ध हुन्छ । मानिसलाई एकताको सूत्रमा आबद्ध गर्दै संस्कार र संस्कृतिले सुमार्गतिर अघि बढाउँदछ । फलस्वरूप चाड़पर्वको जन्म हुन्छ । त्यसकारण संस्कार, संस्कृति, मानवीय सभ्यता एवं चालचलन नै चाड़पर्वकी जननी हुन् । समाज र सभ्यतामाझ, मानवीय व्यवहार र पुराना मान्यतामाझ अनि मुख्य रूपमा संस्कृति र चाडपर्वमाझ गाढा सम्बन्ध हुन्छ ।
यस्ता पर्वले परिवार संयोजन गराउनाका साथै समाज पनि संयोजित हुनसक्दछ भन्नेमा विश्वास गरिन्छ ।
दशमी वा एकादशीमा गेड़गुड़ी भिजाए पाँच दिनमा टुसा पनि पलाएका हुन्छन् । तब पूर्नेमा क्वाँटी बन्दछ । यसो भन्नुको लाक्षणिक अर्थ के हो भने जातिभित्रका सबै जातको साझा संस्कृति जाति र राष्ट्रहितमा सहयोगी होस् र बनोस् क्वाँटीजस्तै उपकारी।